Breaking News

नयाँ वर्ष

नयाँ वर्ष, चुनाब  र दाना कविता

  राम अविकास

 नयाँ वर्ष जसरी आइरहेको छ, त्यसैगरी चुनाब आउँदैछ भन्ने हल्ला पनि चलेको छ। यो गजबको संयोगमा म खोज्ने प्रयास गर्दैछु नयाँ वर्ष र चुनाबलाई साहित्यकार तुल्सी थापाको दाना कविता सङ्ग्रह 'एक निमेष अन्नतको'मा।
 नयाँ वर्ष 
क्यालेन्डर फेरियो
जहाँ यो झुण्डिएको छ
कीला उही पुरानै छ।­­

हो, यो दाना कवितामा भने जस्तै परिवर्तन के भयो त? - त्यही एउटा क्यालेण्डर ! जुन वर्षौदेखि त्यही पुरानै कीलामै झुण्डिरहेको थियो/छ र सायद हुनेछ। यस्लाई यसरी हेरौँ न- राणा गयो, पञ्च गए, प्रजातन्त्र पनि गयो, भर्खरै झुण्डिएको गणतन्त्र पनि क्यालेण्डर फेरिए जस्तै फेरिन कुनै समय नलाग्ला भन्ने आधारहरु देखिँदै छन्। यी जुनसुकै नामका क्यालेण्डर आए पनि नेता तिनै हुन् र जनतामा केही परिवर्तन आएको देखिँदैन। ठीक त्यसै गरी जसरी ६९ सालको क्यालेण्डरलाई ७० सालको क्यालेण्डरले विस्थापित गरिदियो तर झुण्डियो आखिर त्यही पुरानै कीलामा। एवम् रीतले संबिधान सभाको चुनाव आयो, चुनाब गयो, फेरि चुनाब आउँदैछ। अबको चुनाबमा कीला परिवर्तन भएन भने के होला? – हो, माथिको दाना कविता भन्दा फरक केही हुँनेछैन।  
प्रतीक्षा
तिमी आइदिएनौं
र अब जम्दैछ हिउँ
तहै तह छातीभित्र।
 पक्कै पनि हाम्रो प्रतीक्षा शान्ति र स्वतन्त्रताको हो जस्लाई हामीले सात सालदेखि प्रतीक्षा गरिरहेका छौँ। तर खै किन हो यो आउँदै आएन। सात सालदेखिको पीडा छातीभित्र तह तह भएर जम्न थालिसकेको छ। चाहनाको तिब्र प्रतीक्षामा यो हिउँ जस्तै चीसो भैसकेको छ। छाती चीसो हुनु भनेको जीवनको सङ्केत क्षीण हुँदै जानु हो। त्यसैले बाँच्नको लागि पनि तिमी अर्थात 'शान्ति र स्वतन्त्रता' आउनै पर्छ। यस्को बाटोको तगारो भनेको त्यो कीला हो जुन वर्षौंदेखि एकै ठाउँमा र एउटै छ। हो, तगारो पन्छाउने अर्थात कीला र त्यस्को ठाउँ परिवर्तन गर्ने समय यही चुनाब हो र त्यसो गर्छु भनेर प्रण गर्ने समय पनि यही नयाँ वर्ष हो।  
 विस्मात
अन्तमा निर्णय मानेर फर्केपछि
हामीले आ-आफ्ना टाउका छाम्यौँ
ए ! हामी त गिंड मात्र रहेछौँ।
हामी आफूखुसी निर्णय गर्दैनौँ वा गर्न सक्दैनौँ  र त पछि विस्मात गर्छौँ। अरुले गरेको निर्णयमा ल्याप्चे हान्ने काम बाहेक हामीले अरु केही गरेनौँ। ल्याप्चे त्यसैमा हान्यौँ जस्ले हामीलाई क्यालेण्डर फेरिनु भनेको समय परिवर्तन हुनु हो र समय परिवर्तन हुनु भनेको जनताको चाहना पुरा हुनु हो भनेर फूलबुट्टा भर्दै भ्रममा पारे। आखिर हामी जो गिंड मात्रै थियौँ। यदि हामीसङ्ग टाउको हुँदो हो त हामी पक्कै पनि क्यालेण्डर होइन, कीला परिवर्तन गर्ने थियौँ।अबको हाम्रो कर्तब्य हो कीला नै परिवर्तन गर्ने। अब पनि हामीले कीला परिवर्तन गर्न सकेनौँ भने हाम्रो गिंड पनि बाँकी रहने छैन। हामीसङ्ग टाउको छ र त आशा छ, अवसर छ र त उत्सव पनि छ।
आशा
बास त्यहाँ बसौं
देखिनेछ जहाँबाट

भोलिको विहानी।
हो यतिखेर समय, अवसर र उत्सव सबै जुटेर आशा पलाएको छ – भोलिको सुन्दर बिहानीको। अबको बास अर्थात चुनाबमा ब्यक्ति छनौट (पार्टी होइन) सही हुनु पर्छ। कीला भनेको पार्टी होइन, ब्यक्तिको बिचार हो, सिद्धान्त हो। त्यसैले अब कीला नै परिवर्तन गर्न चाहने, बरु त्यो झुप्रो नै किन नहोस्, त्यसैमा बास बस्नु उचित हुन्छ। महलका कीला भन्दा, झुपडीका कीला मलाई मन पर्छ। किनकी झुपडीका कीला आफ्नै रगत, पसीना र माटोले बनेको हुन्छ जस्ले आफ्नो ठाउँलाई चिन्न र बुझ्न सक्छ। महलका कीलाहरु आयातित हुन्छन्। त्यस्ता बिदेशी कीलाहरुले कसरी स्वदेशलाई प्रतिबिम्बित गर्न सक्लार?!नयाँ वर्षले हामीलाई कीला सहितको क्यालेण्डर परिवर्तन गराउन सकोस्, शुभकामना। 

No comments