Breaking News

यसरी पनि सोचौं

अब यसरी पनि सोचौं


राम अविकास

यसपाली चुनावमा भोट हाल्ने धोको छैन
अमुल्य छ समय यो खेर फाल्ने धोको छैन । 
जुन गोरु आए पनि धर्ती बाँझै हुन्छ भने
गोठालो भै लात्ती हान्ने गोरु पाल्ने धोको छैन।।


 श्रीराम अधिकारीको यो मुक्तक पढेपछि यस्तो लाग्छ- अब चुनाव आएछ। तर निर्वाचन आयोग भन्छ – पार्टीहरुले सहयो गरेनन्। पार्टीहरु भन्छन् – निर्वाचन आयोगले चुनावको मिति घोषणा नै गरेनन्। तर मेरो मन चै अन्तै छ श्रीराम आधिकारीको भन्दा हलि फरकतिर - यस्पालीको चुनावमा कस्ता कस्ता नेता भनाउदाहरु उठ्ने हुन्। यस अघि पनि दुईटा चुनावमा भोट हालेकै हो, आखिर के चै नापियो भन्ने भन्ने सोचाइ पनि बेलाबेलामा दिमागमा घुमी रहन्छ। यस्तै सोचाई सबैले राखे भने चुनावको अर्थ पनि रहँदैन। त्यसैले 'म्याक्याट नेपाल'ले उठाएका केही मुद्दाहरुप्रति हामी सचेत हुनु जरुरी छ जस्तो लाग्छ।
'आर्थिक, सामाजिक तथा अन्य अपराधमा मुछिएका सुरक्षा निकायद्वारा खोजिएका, अख्तियारको अनुसन्धानमा रहेका, अदालतमा मुद्दा विचाराधिन रहेका, अपराधमा मुछिएका' कसैलाई पनि उमेद्वार बन्न नपाउने नीति निर्माण गरी कार्यान्वयन गर्न तथा राजनैतिक पार्टीहरुलाई पनि यस्ता विषयमा मुछिएका कसैलाई पनि उमेद्वार नबनाउन दवाब दिने कार्य नागरिकबाट गरिनु जरुरी छ। यस मध्ये निर्वाचन आयोगले केही नीति तयार पारेर प्रचार गरिसकेको छ। अब हाम्रो चाहना भनेको राजनीतिक पार्टीबाट यस्ता ब्यक्तिहरुलाई नछानियोस् भन्ने हो।यस्कालागि पार्टीहरुले मनोनयन गर्न सक्ने संभावित उमेद्वारको लेखा जोखा गरी सचेत हुनु पक्कै पर्छ। यदि गलत ब्यक्तिलाई मनोनयन गर्न खोजेमा त्यस्ता ब्यक्तिको कर्तुत तथा कानुनी अवस्थाको बारेमा स्पष्ट पार्दै उमेद्वार नबनाउन दबाब दिनु पर्ने अवस्था पनि आउन सक्छ चाहे त्यस्ता ब्यक्ति जुन सुकै पार्टी किन नहोस्। समयमै ध्यान दिइएन भने  एकातिर अर्को चुनावसम्म उसैलाइ झेल्नु पर्ने बाध्यता आउन सक्छ भने अर्कोतिर अर्को चुनावसम्मको समयका लागि विकास निर्माणको कार्यबाट पछि धकेलिनु पर्ने हुनसक्छ।

अपराधमा सम्लग्नलाई सङ्गठित गर्ने पार्टीलाई बहिष्कार गर्नु पनि नागरिकको कर्तब्य हुन आउँछ। जुन पार्टीले अपराधिलाई सङ्गठित गर्छ त्यस्तो पार्टीबाट सञ्चालित सरकारले जनताको पक्षमा कसरी कार्य गर्नसक्ला ! यदि त्यस्ता ब्यक्तिलाई पार्टीले उमेद्वार बनाउँछ भने, आफ्नै पार्टी भए पनि, बहिष्कार गर्न सक्ने आत्मबल बढाउनु अहिलेबाटै जरुरी पनि छ।

जुन राजनीतिक पार्टी तथा तिनका नेता पारदर्शी हुँदैनन्, तिनीहरुलाई पारदर्शी हुन बाध्यकारी अवस्था सिर्जना गर्नु पनि नागरिकको दाईत्व भित्रै पर्छ जस्तो लाग्छ। यदि उनीहरु पारदर्शी हुँदैनन् भने बहिष्कारको माहोल सिर्जना गर्न पछि नहट्नु पर्ने अवस्था नआउला भन्न सकिन्न। त्यस्तै, जवर्जस्ती चन्दा उठाउनु अपराध नै हो। जनतालाई दु:ख दिने यस्ता पार्टी तथा नेताले भोलि सत्तामा पुगेर मनोमानी नगर्ला भन्न पनि सकिँदैन। फेरि, स्वेच्छिक भनेर ठूलो मात्रामा चन्दा दिनेहरु पनि आर्थिक अपराधि नै हुन्। अहिले ठूलो मात्रमा चन्दा दिनेहरुले नै हुन् पछि आफू अनुकुल नीति निर्माण गर्न लगाउने। यस्ता पार्टीलाई चुनाव जिताएर भोलि जनताको पक्षमा काम भन्ने आधार आजसम्मको इतिहासले देखाएको छैन। यस्ता पार्टी तथा तिनका नेताको भण्डाफोर गर्नु बाहेक अरु विकल्प हामी सङ्ग अरु के नै रहन्छ र!

हामी सचेत हुनु पर्ने बेला यही हो जस्तो लाग्छ। अहिलेदेखि नै ध्यान दिइएन भने अहिलेसम्म जनतालाई पेल्दै आउने बानी परेका पार्टीहरुले भोलि पनि नपेल्लान भन्न पनि सकिँदैन। त्यसैले अब यसरी पनि सोच्नु पर्ने बेला आइसकेको छ।

No comments