Breaking News

बजार गफ

बजार गफ

राम अविकास 

दर्जन हप्ता बेसी ५ मिनेट लेखे पछि, मलाई यसो भन्न करै लाग्यो - ५ मिनेटले विषयको उठान मात्रै गर्छ र त्यो पनि कुनै एक विषयमा मात्रै। तर यो ५ मिनेटमा म सुनेका दुई विषयको उठान मात्रै गर्छु। करण – यी दुबै विषयले गहिरो सोच/खोजको माग गर्छन्।

  
प्रसङ्ग – १, स्थान: हेटौडाको कुनै एक होटल, समय: रातको ९ बजिसकेको
एकजना मध्यम वर्गीय ब्यक्ति जो पैसठ्ठीसय भन्दा बेसी प्रतिमहिना इनकम ट्याक्स तिर्छन् । उन्ले तिर्ने ट्याक्स कुनै कम्पनीमा नाफा गरे वापत नभई विल्कुल शारिरीक श्रम गरे वापत हो।
उनी – इनकम ट्याक्स तिर्ने गरेको छ?

– इनकम गर्छु त ट्याक्स पक्कै तिर्छु। यो मेरो नागरिक हुनुको कर्तब्य पनि हो।
उनी  – कति तिर्ने गरेको छ?
म  – मेरो इनकम हरेक महिना बराबर हुँदैन। त्यसैले, ट्याक्स कुनै महिनामा कम हुन्छ त कुनै महिनामा बेसी।
उनी  – ट्याक्स तिरे वापत के पाएको छ?
म  – म यो देशको नागरिक हुँ । देशले मलाई नागरिकता दिएको छ। मैले चाहेँ भने उस्ले मलाई पासपोर्ट दिन्छ। मैले तिरेको ट्याक्सबाटै मेरो गाउँघरमा विकास योजना पर्छ।
उनी  – म बिरामी भएँ, म काम गर्न नसक्ने अवस्था आयो  भने के देशले मलाई मैले तिरेको ट्याक्स फिर्ता दिन्छ?, के मैले तिरेको ट्याक्सको ब्याज दिन्छ? जस्को सहाराले म बाँकी जीवन बाँच्न सकूँ !
उन्को कुरोको चुरो यस्तो रहेछ। खासमा मसङ्ग यस्को जबाफ छैन। सुनेको छु विदेशतिर ट्याक्सको ब्याज आउँछ रे। तपाईसङ्ग कुनै जानकारी छ कि !
प्रसङ्ग – २, स्थान: हेटौडाको कुनै एक चौतारो, समय: दिनको ११ बजिसकेको
सरकारी जागिरबाट रिटायर्ड भैसकेका एक ब्यक्ति जो हाल शिक्षा ब्यवसायमा सम्लग्न छन्। उन्ले 'चन्दा आतङ्क'लाई फरक तरिकाले हेरेका रहैछन्। उन्को भ्यूबाट मैले कहिल्यै हेरेको थिइनँ।
उनी – तपाईँले राजनैतिक पार्टीलाई चन्दा दिनु भएको छ?

म  – छ।
उनी  – आफूखुसीले कि ..?
म  -  आफूखुसी त सामाजिक हितका कार्यमा मात्रै दिइन्छ नि। पार्टीहरुले त जबर्जस्ती माग्छन्। 
उनी  -  काँग्रेस, राप्रपाले मागेको छ?
म – उनीहरुले त मागे जस्तो लाग्दैन। मसङ्ग चै नमागेका हुन् कि !
उनी  – कम्युनिष्टइतरका पार्टीले अधिवेशन, सङ्गठन भनेर मागेको मैले सुनेको छैन। के उनीहरुको अधिवेशन नै हुँदैन र, कि कसो?
म  – कम्युनिष्टको भन्दा बढि र समयमै प्रजातन्त्रबादिहरुकै भएको जस्तो लाग्छ।
उनी  – कम्युनिष्ट पार्टीको नाममा चन्दा माग्न आउनेको लगाई, खुवाई त तपाई काममा मरिमरी खट्नेको भन्दा राम्रो देख्छु। कामै नगरी कहाँबाट आउँछ त्यत्रो पैसा? हेर्दा लाग्छ उनीहरु कुनै करोडपतिमा सन्तान हुन्, कि कसो?
 – मैले त यताबाट कहिल्यै हेरेको थिइनँ।
फेरि म नाजवाफ भएँ। सम्झन्छु – चन्दा माग्न आउनेहरु सबै कम्युनिष्ट पार्टी कै लेटरप्याड र बिल बोकेर आएका थिए । सोच्छु - नेपालमा कम्युनिष्ट पार्टीको सङ्ख्या बढ्नुको पछाडि यस्तै कारण त छैन ! तपाईँले यसरी पनि हेर्नु भएको छ त !
(Published. हेटौँडा टुडे दैनिक । १५ चैत्र ०६९ स्तम्भ- अविकाससङ्ग ५ मिनेट 

No comments