Breaking News

स्वतन्त्र हुनु र स्वतन्त्र छु

स्वतन्त्र हुनु र स्वतन्त्र छु भनेर देखाउन खोज्नु फरक कुरा हो

राम अविकास

स्वतन्त्र पत्रकार सङ्घ मकवानपुर शाखाको तदर्थ समिति गठन र त्यस्ले सदस्यताको लागि गरेको आवेदनमा माग गरेको सर्तहरुले मकवानपुरे पत्रकारीता जगतलाई तताएको छ। बहुसङ्ख्यकले यस सङ्घको नियतमाथि शङ्का उठाएका छन्।

स्वतन्त्र पत्रकार सङ्घको उदयकथा:
पत्रकार महासङ्घको अध्यक्ष धर्मेन्द्र झा हुँदा ताकाको कुरा हो यो- नेपाल पत्रकार महासंघ कास्कीको चुनाव नगरी पार्टीगत पत्रकार संगठनले नेपाल पत्रकार महासंघको विधि विधान मिची पत्रकारहरुको मताधिकार खोसेर अवैधरुपमा समिति गठन गरेपछि त्यसको विरोधमा स्वतन्त्र पत्रकारिताको रक्षाको लागि कास्कीका केही पत्रकारहरु संगठित भएका हुन्। पार्टीगत पत्रकारका संगठनले होटलमा बसेर मनोमानीरुपमा समिति बनाएपछि त्यसको विरोधमा कास्कीका पत्रकारहरुले पोखरामा ११ दिनसम्म रिले अनसन बसेका थिए। रिले अनशन बस्ता समेत केन्द्रीय समितिले कुनै सुनुवाई नगरेपछि पोखराका पत्रकार नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा आमरण अनशन बसेका थिए।आमरण अनशनपछि महासंघका तत्कालीन अध्यक्ष धमेन्द्र झाले कास्कीमा विधिवत रुपमा चुनाव गराउने प्रतिबद्धता गरे पछि अनसन तोडिएको थियो। तर पछिसम्म पनि चुनव हुन सकेन।यही घटनाबाट सुरु हुन्छ- स्वतन्त्र पत्रकार सङ्घको उदय।

घोषणापत्रमा यस्तो छ
गत फागुन २४ गते पोखराका ती पत्रकारहरुको भेलाले स्वतन्त्र पत्रकार संघ नेपाल स्थापना गर्ने निर्णयको साथै विधान मस्यौदा समिति गठन गरेको थियो। त्यही भेलाले नौं बुँदे पोखरा घोषणापत्र समेत जारी गरेको थियो । सो घोषणापत्रमा पत्रकारिताका सन्दर्भमा पत्रकारहरु दलीय आवद्धताबाट अलग रहने, पत्रकारितामाथिको दलीय हस्तक्षेप स्वीकार नगर्ने र नयाँ बन्ने संविधानमा प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिनुपर्नेमा जोड दिइएको छ । यसैगरी, नेपाल पत्रकार महासंघको नाममा दलीय भागवण्डाको आधारमा गरिएका विधि विपरीतका गतिविधि अस्वीकार गर्ने, विधिको शासनको पूर्ण पालना हुनुपर्ने, श्रमजीवी पत्रकार ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गरिनुपर्ने, पत्रकारहरुको पेशागत सुरक्षाको सुनिश्चितता गरिनुपर्ने, दण्डहिनताको अन्त्य गरिनुपर्ने र विभिन्न दलीय पत्रकार संगठनहरुमा रहेका पत्रकारहरुलाई स्वतन्त्र बन्न र स्वतन्त्र पत्रकार संघमा आवद्ध हुन आव्हान गर्ने समेत पोखरा घोषणापत्रमा उल्लेख गरिएको थियो ।

त्यही भेलाले स्वतन्त्र पत्रकार सङ्घ गठन गरी विधान तैयार गर्न त्यहाँका पत्रकार नारायण कार्कीको संयोजकत्वमा माधव वियोगी र पुर्णचन्द्र घिमिरे सदस्य रहेको तीन सदस्यी विधान मस्यौदा समिति चयन गरेको थियो ।बैशाख १८ गते स्वत्रन्त्र पत्रकार सङ्घ नेपालको नाममा कास्कीमा संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम दर्ता गरेका थिए। जतिखेर अध्यक्ष थिए कृष्णप्रसाद बाँस्तोला। मङ्सिर २९ गते यसले पहिलो महाधिवेशन गरेको थियो जस्को उद्घाटन गरेका थिए नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले। र अहिलेसम्ममा विभिन्न जिल्लामा ९ शाखाहरु खोलिसकेको छ।

यी सबै घटनाक्रम हेर्दा यो सङ्घ नेपाल पत्रकार महासङ्घको विरुद्धमा खुलेको देखिन्छ। मकवानपुरमा खुलेको शाखा पनि महासङ्घको विरुद्धमै हो भन्न सकिने आधार थुप्रै छन्। महासङ्घको मकवानपुर शाखाको १२औं साधारण सभा अघिबाट सुरु भएका घटनाक्रमले पनि यस्को पुष्टि गर्छ।

'स्वतन्त्र पत्रकार' लाई नेपालमा सम्मानका साथ लिइन्छ। सूचना बिभागले 'स्वतन्त्र पत्रकार' प्रमाणित गरेर परिचयपत्र जारी गर्ने कुरा पत्रकारीता पढेका, पढाएका र अनुभवीलाई राम्रो ज्ञान हुनु पर्ने हो। यसरी अर्थै फरक भएको शब्दलाई प्रयोग गरेर नेपाल पत्रकार महासङ्घको विरुद्धमा जाईलाग्न खोज्नु सही र बुद्धिमानी पक्कै होइन।

पत्रकार स्वतन्त्र हुनु पर्छ भन्ने मान्यता मेरो पनि हो जस्को विषयमा यसै स्तम्भमा मैले लेखिसकेको छु। यदि मकवानपुरमा गठन भएको 'स्वतन्तर पत्रकार सङ्घ' नामक सस्था गैरराजनैतिक हो र आशय सही छ भने "गैरराजनैतिक पत्रकार सङ्घ" नाम राखेर आफैले मकवानपुरमा सस्था दर्ता गर्न पनि सकिन्छ। यसै महिनाको अन्त्यमा गर्ने भनिएको अधिवेशनले यो कुरालाई मनन् गरोस् किनकी स्वतन्त्र हुनु र स्वतन्त्र छु भनेर देखाउन खोज्नु फरक कुरा हो ।
(Published. हेटौँडा टुडे दैनिक । ११ माघ ०६९ स्तम्भ- अविकाससङ्ग ५ मिनेट)

2 comments:

  1. रामशरण पुडासैनीको विचारलाई म समर्थन गर्छु। उनले भने "गैरराजनैतिक" भन्दा पनि "गैरदलीय" उचित हुन्छ।

    ReplyDelete