Breaking News

रोल मोडेल

रोल मोडेल

राम अविकास

आफूले मानेको मान्छे इमान्दार होस्, असल आचरणको होस्; अझ भनौँ 'रोल मोडेल' होस् भन्ने चाहना सबैको हुन्छ, सायद।  हात्तीको दुई किसिमका दाँत भए जस्तै मान्छेहरुको पनि प्रायजसो दुई मुखुण्डो देखिन्छन्। कवि श्यामलको विचारमा- समाजले नै हामीलाई मुखुण्डोधारी बनाउँछ। यस्तो परिवेशमा पनि यदि 'रोल मोडेल' भेटियो भने- मान्छे कति खुसी हुन्छ होला!
हुन त मान्छे कोही पनि पर्फेक्ट हुँदैन । भनिन्छ- एउटा पूर्ण रोल मेडेल त काल्पनिक मान्छे मात्र हुनसक्छ जस्तो कि हामीले कल्पना गरेको भगवान। तर आफूले चाहेको विशेषताहरु फरक फरक ब्यक्तिबाट पनि लिन सकिन्छ होला। त्यसो त मलाई मन परेको मान्छे सबैलाई मन पर्नु पर्छ भन्ने छैन र यस्को उल्टो पनि। हुन त को/के मन पर्ने र मन नपर्ने बन्ने कुरा उस्को/उन्को ब्यक्तिगत प्रकृतिमा पनि भर पर्छ होला।

कहिलेकाहीँ आफूलाई पढाउने गुरुदेखि, आफूले काम गर्ने ठाउँको बोसदेखि, आफूले मन पराएर फलो गर्ने गरेको लेखकदेखि लगाएत आफूले गर्ने हरेक कृयाकलापहरुका मनिटरहरुदेखि दिक्क लागेर आउँछ र आनायासै निस्कन्छ मुखबाट- ह्या कस्तो मान्छेको अन्डरमा परिएछ ! कहिलेकाहीँ उनीहरुको क्षमाता, तर्कशक्ति र सृजनशीलता माथि नै शङ्का लाग्छ। उनीहरुको आचरण त झन परको कुरा भयो।

रोल मोडेल खोज्न संसार भौँतारिनु पर्छ भन्ने पनि लाग्दैन। आफ्नै सर्कलका/पहुँचका ब्यक्तिहरुमा आफूले चाहेका गुणहरु खोज्न पनि सकिन्छ। मेरो सानो सर्कल भित्रको अन्तरकृयामा मैले यी ब्यक्तिहरु रोल मोडेल हुन सक्ने सम्बावना भेटेको छु:

अ) अभियन्ताको रुपमा बिकास लकाइ खड्का
- भ्रष्टाचार, अपराध र आतङ्कबाद बिरुद्धको सामाजिक अभियानका अध्यक्ष हुन् यी। यिनीसङ्ग लिडिङ् गर्ने क्षमता गज्जबको पाएँ। अभियन्ता असल आचरणको होस्, औंला उठाउन नसक्ने अवस्था सृजना गरोस् भन्ने हुन्छ। खड्कामा यी गुणहरु भेटिए। साकाहारी खाना खाने, जाँड रक्सी नपिउने, तर्कशक्ति प्रधान , दर्शनको ज्ञान राम्रो भएको र सबैभन्दा ठूलो कुरा म के गर्दै छु र मेरो नैतिक जिम्मेवारी के हुन्छ भन्ने विषयमा हरदम सजग।

आ) स्तम्भकारका रुपमा आनन्दराम पौडेल
- यी हाल लेखक हुन्। सुशासनको विष्लेशक र ब्याखाता हुन्। कुनै एनजिओ/आईएनजिओ बाट सञ्चालित होइनन्। सिडियोसम्म भएका यी पौडेलसङ्ग
कार्य अनुभवको सुशासन सम्बन्धी लामो फेहरिस्त छ। पौडेल सामाजिक, मानवीय हरेक  पक्षलाई सुक्षरुपमा केलाएर अध्ययन गरी निचोड निकाल्ने गर्छन्। यिनी सङ्ग यस्ता तथ्यहरु हुन्छन् जुन मिडियाले सम्म भेउ पाईसकेको हुँदैन। धार्मिक ग्रन्थदेखि भौतिकबादसम्मका बिचारलाई खाइसकेका यी पौडेलका लेख तथा सम्बोधनहरुमा प्राकृतिक नियमहरु भित्र रहेर सुशासनका उपाएहरु भेटिन्छन्। खह्रो स्वभावका पौडेललाई गलत हो भन्ने आधार पाएमा आफ्नै परिवारका सदस्यको बिरोधमा लेख्न पनि पछि नपरेको भेटिएको छ। 

इ) साहित्य साधकको रुपमा तुल्सी थापा
- एउटा रचना लेखे पछि दश ठाउँमा झ्याली पिट्दै हिड्ने र आफ्नो रचनाको बारेमा   बढाईचढाई गरेर प्रशंसा गरिदिन च्यानल फिट गर्ने वर्तमान साहित्यिक भीडमा यिनी पृथक भेटिन्छन्। यिनको 'एक निमेष अनन्तको' र 'अमरसिंहको खोजीमा अमरसिंह नाटक' अब्बल दर्जाको छ। पहुँचको हिसाबमा यिनको नेटवर्कलाई कम आँक्न सकिन्नँ। र पनि यिनी प्रचारमुखी देखिएनन् । यो स्तरको रचना र यस्तो पहुँच भैदिएको भए  कतिले नेपालको टूलो मानिएको मदन पुरस्कार टप्काई सक्थे। भर्खरै काठमाण्डौमा यिनको नाटक मञ्चन भए पछि भने यिनको क्षमता र धैर्यताको कदर हुन थालेको छ।

ई) रेडियो कार्यक्रम प्रस्तोताको रुपमा पवनराज पौडेल
- यिनको आवाजमा गज्जबको जादु छ। शब्दलाई, प्रयोग भएको भावको आधारमा  आवाज दिन सक्ने यिनको कला अति लोभलाग्दो छ। कुनै जवानामा चितवनको कालिका एफएमको गजल सरोवरमा यिनले प्रस्तुत गर्ने गजलवाचनको शैली मकवानपुरमा अझै चलिरहेकै देखिन्छ। यो भन्दा पनि, यिनको कार्यक्रम प्रस्तुतिको प्रखर प्रभाव 'सुन्नेलाई सुनको माला' मा देखिन्छ। आख्यान वाचन हुने यो कार्यक्रममा फरक फरक पात्रको फरक फरक क्षमता, लवजलाई सहजै एकै प्रस्तोताबाट प्रभावकारी ढङ्गले प्रवाह गर्न सक्ने यी पौडेल अध्ययनमा पनि उत्तिनै जुटेको भेटिन्छ।

उ)  स्वअध्यताको रुपमा दिलिप पौडेल
- यी विश्वविध्यालयीय अध्यापन गर्छन्। झट्ट हेर्दाखेरी अध्ययता जस्तो नदेखिने यिनी आफूले अध्ययन गरेकोछु भनेर कुनै पनि विषयमा फुट्टी लगाउँदैनन्। पाश्चात्य साहित्य खारी सकेर हाल यिनको रुची पूर्वीय साहित्य तथा अध्यात्मिक पुस्तकहरुमा कुद्न
थालेको देखिन्छ। आध्यात्मिक ग्रन्थहरुलाई पाश्चात्य दर्शनहरुसङ्ग तुलना गरेर फ्युजनिक सार निकाल्न खोजे जस्तो देखिन्छ।

ब्यवहार र नीतिमा उस्तै भेटिने प्रगतिबादी साहित्यकार मित्रलाल पङ्ज्ञानी, यथास्थितिबादी शैलीको छन्द कवितामा पनि प्रगतिबादी चेत घुसाउन सक्ने कवि रामप्रसाद ज्ञवली लगाएतका धेरै रोल मोडेलहरु हामी हाम्रै वरिपरि भेट्न सक्छौँ। कुरा यति हो कोबाट कस्तो गुण आफूले सिक्ने।

रोल मोडेलहरु सँधै रोल मोडेल भैरहने हुँदा रहेनछन्। रोल मोडेलमा पनि बेला बेलामा विचलन आउँदो रहेछ। भाषामा जति विचलन आयो साहित्य त्यति राम्रो भने जस्तो मान्छेमा आएको विचलनलाई स्वीकार्न सकिँदो रहेनछ।
(Published. हेटौँडा टुडे दैनिक । २५ माघ ०६९ स्तम्भ- अविकाससङ्ग ५ मिनेट)    

No comments