Breaking News

पार्टीका मात्रै

पार्टीका मात्रै हुँदैनन् पत्रकार

राम अविकास

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १२ औं वार्षिक साधारण सभा आफ्नै भवनमा सम्पन्न गर्यो।यो सुखद पक्ष हो। राम्रो भन्दा नराम्रो टिप्पणी गर्ने हाम्रो प्रवृति नै भैसकेकोले साधारणसभामा कोषाध्यक्ष र सचिव दुवैको प्रतिवेदनमाथि भएका टिकाटिप्पणी पनि त्यसैको एक कडि मात्रै हो। मकवानपुर शाखाले केन्द्रका वाहेक आफ्नै कार्यक्रम राख्न नसकेको कुरामा कसैको दुई मत छैन। झण्डै एक सय ५० जाना सदस्य रहेको मकवानपुर शाखाको साधारण सभामा ५० को हाराहारीमा मात्रै उपस्थित हुनु दु:खको कुरा पक्कै हो।

अहिलेको कार्यसमिति चयन हुनु अघि नयाँसदस्यको आवेदन माग हुँदा यसै स्तम्भमा मैले लेखेको थिएँ- नयाँ सदस्यता दिँदा आफ्नो पार्टी र आफ्नो मान्छे हेरेर दिईनु हुँदैन। यस्ले चुनावको परिणामलाई उल्ट्याउन सक्छ र काम गर्ने माहोल तयार नहुन सक्छ। चुनावको समयमा पनि धेरै सास्ती पायो मकवानपुर शाखाले र अहिले काम हुन नसकेको अवस्था पनि छर्लङ्ग देखियो। र त यतिखेर तयारी हुँदैछ- सदस्यता काँटछाँटको।

१२ औं साधारणसभामा एक तिहाईं सदस्यहरु मात्रै उपस्थित भए। उपस्थितमध्येका पनि एक तिहाईं मात्रै पूर्णकालीन अर्थात पत्रकारिता पेशा मात्रै अङ्गालेर जीवन चलाउँछन्। आधा जसो दोहोरो पेशा गर्छन्। धेरैजसो परिचयपत्रधारी मात्रै छन्। यदि यो संस्था र पेशालाई मर्यादित बनाउने हो भने पत्रकारहरुकै मात्र संस्था हुनु जरुरी छ। यसो गरिनकालागि परिचयपत्रधारी मात्रैहरुका परिचयपत्र नवीकरण गरिनु हुँदैन।  


मकवानपुरका धेरै कुराहरु रिमोट कन्ट्रोलबाट चल्छन्। 

सन्दर्भ एक- 'ए, तँ हाम्रो विरुद्धमा समाचार लेख्ने ! तँलाई फलानो पत्रिकामा जागिर कस्ले लगाइदे'को, विर्सिस तैँले ?' 
सन्दर्भ दुई- 'तैले आफ्नै क्षमताले चुनाव जितेको भन्ठानेको छस् कि के हो? पार्टीले ह्विप जारी नगरेको भए, के हुन्थ्यो तेरो हालत?'
यस्ता सन्दर्भहरु थुप्रै छन् देखिने र नदेखिने। यस्तो अवस्थामा नवीकरण रोक्का गर्ने काम त्यति सहज छैन।

१२ औं साधारणसभामै यस्तो कुरा पनि उठाइयो- 'चार पार्टीका भातृ पत्रकारसमुहहरुका आधिकारीक पदाधिकारीहरु बसेर यी-यीहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गर्नु पर्छ।' यो त ध्रुवे हात्ती शैली भैहाल्यो नि । यस्ले दुई गलत दिशातिर निर्दैशीत गर्छ- १) पत्रकार महासङ्घमा पार्टीको हालिमुहाली प्रवेश गराउँछ। २) स्वतन्त्र रहेका र रहन चाहनेहरुलाई पार्टी प्रवेशमा बाध्य बनाउँछ। त्यसैले यो सुझाउ हेर्दा सही देखिए पनि गलत मानसिकतालाई निम्याउँछ। ब्यक्ति जुनसुकै विचारधाराको भएपनि 'महासङघ' नामक संस्था कुनै पार्टीको मात्रै होइन र सवै पत्रकार पार्टीको झण्डा बोक्ने मात्रै पनि हुँदैनन्।

1 comment:

  1. तीन हप्ता जति अगाडि यो लेख छापिएको थियो हेटौडा टुडेमा । र हिजो(माघ-७) स्वतन्त्र पत्रकार सङ्घ मकवानपुर शाखा गठन भएछ गैरराजनैतिक सस्था भनेर। खुसी लाग्यो।

    ReplyDelete