Breaking News

सरलतामा

सरलतामा जीवन सल्बलाउँछ !

राम आविकास

टेड ह्युजले भनेका छन्: " कविता पढ्दै गएपछि त्यसमा प्रयोग भएका शब्दहरु हाम्रो जीवनका अनुभवसङ्ग विस्तारै साटिँदै जान्छन्। क्रमश: हाम्रो अनुभवले ती शब्दहरुलाई बिस्थापित गर्छ र हामी कविता भित्र प्रवेश गर्छौँ।" जबसम्म हामी कविता भित्र प्रवेश गर्न सक्दैनौँ तबसम्म हामीलाई कविताले छुँदैन। हाम्रा अनुभवले बिस्थापित गर्न सक्ने शब्दहरु भनेका दैनिक जीवनका सरल शब्दहरु नै हुन्। त्यसैले त सरल शब्दहरुलाई कलात्मक शैलीमा उनिएका कविताहरुले हामीलाई तुरुन्तै छुन्छ।



सरल शब्द तिनैले प्रयोग गर्छन् जो दैनिक गुजारा चलाउन सङ्घर्ष गर्छन्। उनीहरुका कविताले जीवन भोगाई बोल्छ। त्यो जीवन भोगाई आम मानिसको जीवन भोगाई पनि हो। त्यसैले त, त्यस्ता कविताले धेरैलाई छुन्छ। सायद यसैको उपज होला कवि विप्लभ ढकालको बुझाई छ- 'सरल कविता लेख्नु कठीन कार्य रहेछ।' र के मान्नु जरुरी छ भने शब्द बुझ्न शब्दकोष पल्टाउनु पर्ने कविताले हामीलाई हम्मेसी तान्दैन। तानेको बहानामा आफ्नो विद्वता जतिसुके छाँटे पनि आफूले आफैँलाई एकान्तमा कहिल्यै ढाँट्न सकिन्नँ। त्यस्त शब्दसङ्ग बहुसङ्ख्यकको जीवन भोगाई साटिँदैन।
छन्दका कविताहरुले धेरैलाई तानेको महशुस हुन्छ। तर त्यो तान्ने काम त्यस्को वाचनले गर्यो या शब्दले छुट्याउन गार्हो छ। छन्द कविताले त्यतिखेर जीवन पाउँछ जतिखेर त्यसलाई कुनै कुशल वाचकले आफ्नो लय दिन्छ। छन्द सुन्नमा जति आनन्द आउँछ त्यति पढ्नमा आनन्द आइरहेको छैन। सबैको हैसियत छन्द वाचन गर्न सक्ने हुँदैन र सबै ठाउँमा कवि स्वयम् उपस्थित भएर वाचन गरिदिन पनि सक्दैन। फरक फरक वाचकले एकै कवितालाई एकै लयमा वाचन गर्दा पनि हामी त्यसमा कस्को वाचनमा कविता जुर्मुरायो भनेर विकल्पको खोजी गर्छौँ। वाचनमा पनि विकल्पको खोजी गर्नुको अर्थ यही भयो- छन्द कविताका शब्दले होइन त्यसको लयले हामीलाई बढि छुँदो रहेछ।
धेरैजसो छन्द कविताका शब्दले हामीलाई एकरति पनि छुँदैन। छन्दकविता लेख्नेहरु धेरैजसो संस्कृत पृष्ठभूमीबाट आएका छन्। संस्कृत यतिखेर मृत प्राय: अवस्थामा छ जस्को कारण छन्दमा बढि जस्तो प्रयोग हुने संस्कृत शब्दहरु धेरैको बुझाई बाहिर छ। फेरि छन्दका कविताहरुमा सरल शब्दबाट चाहेको भाव प्रवाह गर्न कला र क्षमता दुबै चाहिन्छ जुन धेरै थोरै छन्द कविहरुसङ्ग देखिन्छ। जबसम्म दैनिक जीवनका सरल शब्दहरु  छन्दमा प्रवेष हुँदैनन् तबसम्म छन्दकवितालाई पाठ्यरुपबाट मात्रै बुझ्न कठिन भैरहन्छ।
कविता सबैका लागि लेख्ने हो भने कवितामा प्रयोग हुने शब्दहरु दैनिक जीवनका सरल शब्दहरु नै हुनु पर्छ चाहे त्यो गद्य कविता होस् या पद्य। त्यस्तो कविता पढ्न/सुन्न पाईयोस जसभित्र आफू एकाकार भएर प्रवेश गर्न सकियोस्। 

No comments