अध्ययनको
अध्ययनको विकल्पै छैन!
राम आविकास
"दाइ, मैले कवितै लेख्न सकिनँ। लेख्न बस्यो- मनु मञ्जिलको 'सजायँ', निमेष निखिलको 'उमेरको नदी' र भुपिन ब्याकुलको 'बेसारको खेती' मात्रै दिमागमा आउँछ। के म अब राम्रा कविका राम्रा कविता पढ्नै छोडिदिउँ त?"
विउ नराखी विरुवा उम्रदैन भने जस्तै अध्ययन नगरी सृजनाको गर्भादान हुँदैन। र यो पनि साँचो हो- विरुवा त्यसैको उम्रन्छ जस्को विजारोपण हुन्छ। मञ्जिल, निखिल, ब्याकुलका विउहरु ब्याडमा हुर्र्याएर अन्यको वेर्ना खोज्नु पनि ब्यर्थ हो।
कोही विरुवा यस्ता हुन्छन् जस्को विउ कस्ले रोप्यो थाहा हुँदैन। त्यस्ताहरु जुठेल्नामा, मल खाल्टोमा, खहरेका झाडीमा, नदीका किनारमा लाजै नमानी हुर्कन खोज्छन्।तिनको नीयति भनेको तीनपाते हुने बित्तिकै उखेलिएर फालिनु या हेरचाहको कमिमा आफै सुक्दै जानु हो। यस्तै खालका अचेलभरि हाम्रा कवि गोष्ठीहरुमा, स्थानीय पत्रपत्रिकाहरुमा प्रशस्त हुर्कन खोज्दै छन्। यिनीहरु त्यसरी नै उपेक्षामा पर्नेछन् जसरी जङ्गलको खोँचतिर भाग्यले हुर्किएका त्यस्ता रुखहरुको फललाई उपेक्षा गर्ने गरिन्छ।
हामी हाम्रा ब्याडका भन्दा नर्सरीका वेर्नालाई किन महत्व दिन्छौँ भने त्यहाँ उन्नत विउको प्रयोग, उचित समयमा उचित मलजलको प्रयोग भएको मान्छौँ। र त्यही अनुसारको हेरचाह गर्छौँ। र त उत्तम स्वादको गुणस्तरीय फल प्राप्त हुन्छ। राम्रा कविता भनेका विउलाई उचित समय, परिस्थिति र ठाउँमा उचित मलजलका साथ राम्रो हेरचाह गर्न सक्नु हो। कागति सम्झँदा पनि मुख रसाए झैँ कविता सम्झँदा मात्रै पनि त्यस्ता कविताहरु र तिनका कविहरु दिमागमा आइहाल्छन्। यस्तो हुनु अस्वभाविक होइन।
राम्रा कविका राम्रा कवितालाई आफ्नो कविताको विउलाई उम्रन र हुर्कन आवश्यक पर्ने मलजल र वातावरण हो। जबसम्म मलजल र वातावरणको सङ्कलन र सदुपयोग गर्न सकिँदैन तबसम्म आफ्नो कविताको विउ जतिसुकै उन्नत भए पनि उम्रदैन। कविता लेख्न खोज्दा 'सजायँ', 'उमेरको नदी', 'बेसारको खेती' आदि मात्रै दिमागमा आउनु भनेको मलजल, वातावरण अर्थात अध्ययनको अझै कमी हुनु हो।
No comments