Breaking News

राजेन्द्रको यात्राका पाईलालाई नियाली हेर्दा


-जनकमान डंगोल
संस्कृत भाषामा नव: भनेको नौ र कट्ट भनेको कोट हुन्छ । नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट, कालिकोट, सल्यानकोट, धुँवाकोट समेत गरि नौ वटा कोट मिलेर बनेको भएर नै नुवाकोट भनिएको हो भन्ने मान्यता छ ।
नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपाल वंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक अनुश्रुति रहेको छ । नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा, कालिकोट रसुवा जिल्लामा पारिएको थियो भने बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामानै रहेको छ ।
पृथ्वी नारायण शाहले ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार र वि.सं. १८२२ मा शेरा दरबार बनाउन लगाए । पछि नब्बे सालको महा-भूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो । पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र सर्ववसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए तर उपत्यकाका मल्ला राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन । स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो समथर खेतियोग्य बढी उब्जाउ जमिन भएको स्थानलाई सेरा खेत भनेर भन्ने चलन छ । नुवाकोटको सेरामा जन्मिएर हाल राजधानी काठमान्डौलाई कर्मथलो बनाएको राजेन्द्रमान डंगोल हाल पर्यटन पेशामा आबद्ध छन । पर्यटन पेशामा आबद्ध भएका ब्यक्तिहरु बिदेस देखि नेपालको कुना कन्दराहरु संग परिचित हुनु नयाँ र नौलो कुरा पनि भएन ।
पर्यटन ब्यबसाय संगै राजेन्द्रमान डंगोल साहित्यमा पनि रुचि राख्ने गर्दछन । देसी बिदेसी पर्यटकहरु लाई पथ प्रदर्शक गराउने सिलसिलामा देसको हरेक स्थानहरुमा पुग्दा ति स्थान, त्यताको कला र संस्कृति, भेषभुषा, रहनसहन, चाडपर्व, बसाई देखि खानपानलाई  कथा, कबिता देखि संस्मरणमा बयान गर्नु भनेको सुनमा सुगन्ध थपे जस्तै हुन्छ भने पर्यटन ब्यबसायी देखि नुवाकोटे साहित्यकारहरुको जमघट हुने थलो त्रिशुली बाङ् मय  प्रतिस्ठानको सदस्य भएको नाताले राजेन्द्रमान डंगोलले समय समयमा साहित्यिक सिर्जना रच्ने गरेका छन । 
आफुले समय समयमा यात्रा गरेको स्थानहरु, देखाई र भोगाईलाई लिपिबद्ध गर्दै केहि महिना अगाडी राजेन्द्रमान डङ्गोलले लेखेको 'यात्राका पाईला' लाई  त्रिशुली बाङ् मयले प्रकाशन गरेको पुस्तकमा 'आदरणीय दाज्यू जनकमान डङ्गोलमा सादर उपहार' भन्ने वाक्यांस थपेर पठाईएको पुस्तक साहित्यकार तथा कवी छबी अनित्य मार्फत हात पर्यो । पुस्तक बिमोचनको समयमा निम्तो पनि पाईएकै थियो तर राजधानी र हेटौडाको दुरी अनि कार्य व्यस्तताको कारणले गर्दा उपस्थित हुन सकिएन ।


जागिरको सिलसिलामा अति ब्यस्त कार्यता अनि समय मिलाएर धाराबाहिक टेलीश्रंखला जस्तै गरि 'यात्राका पाईला' पुस्तक पढेपछि पुस्तकको बारेमा जांचपरख गर्न पाउनु पाठकको कर्तब्य हो र त्यसैलाई आत्मसात गर्दै केहि शब्दहरु कोर्ने जमर्को गरेको छु ।
पंक्तिकारले माथिनै लेखकको गुण अबगुण बारेमा टिप्पणी गरि पछी अरु के बयान गराई भो तर हरेक स्थानमा पुग्दा उक्त स्थानको नाम पहाड देखि चुचुरोको उचाई र नाम कसरि रहन पुग्यो भन्ने बारेमा जिज्ञासा राख्दै स्थानीयलाई त्यसको बारेमा सोधखोज गरि पुस्तकमा लिपिबद्ध गर्दै  पाठकहरुलाई जानकारी दिएर लेखकले अति प्रशंसनीय काम गरेका छन ।
हाम्रो देश मात्र नभएर बिदेशमा समेत बिषय र प्रसंगमा उखान टुक्का मिसाएर पस्किने बिरलै होलान । सम्माननीय प्रधानमन्त्री के.पि.ओली त झन उखानटुक्कामा महारथ हासिल गर्नु भएको सम्मानित व्यक्तिमा पर्नु हुन्छ ।  लेखकले पनि त्यसैलाई  आत्मसात गर्दै ठट्यौली पारामा स्थानीय भाखा मिलाएर आफ्नो यात्रा बर्णनको बिच्चबिच्चमा पस्किनु भनेको पढ्ने पाठकहरुको लागि छुट्टै नौलो स्वाद हुन जान्छ ।
पदयात्रामा जानु भनेको सुखको यात्रा पक्कै पनि हैन । देसी बिदेसी अतिथिहरुलाई उक्त स्थानको बारेमा सविस्तार बयान गर्दै आफु र उनीहरुको ज्यू ज्यानको सुरक्षा समेत गर्नु पर्ने हुन्छ भने यात्राको दौरानमा पाएको माया र सत्कार देखि देखेको भोगेको बर्णन समेत 'यात्राका पाईला' मा समेटिएको छ । यस आलेखमा त्यसै पुस्तकका केहि अंशहरु झिकेर जस्ताको तस्तै राख्ने जमर्को गरेको छु ।
१.    बेत्रावती रसुवा जिल्ला पर्दछ ।  सुन्दर बेत्रावती बजारको बिचमा छ पक्कि पुल । वेत्रगङ्गाको नामबाट बनेको नाम वेत्रावती उअही ठाउँ हो, तर यहि पुलले छुट्याईदिएको छ पारि रसुवा र वारि नुवाकोट भनेर । सिमाना बनेर सगर छुन लम्किरहेकी वेत्रगङ्गाले मानव संकीर्णताको सिमाना भने भत्काएको अनुभूति भयो मलाई त्यतिखेर ।
२.    हाम्रा स्वागतार्थ प्रतिक्षारत थिए गोल्जुङ्बासि । झाकिझाकाउ थियो गोल्जुङ्गाउँ । स्वागतद्वारसंगै लहरै उभिएका थिए महिला दिदीबहिनीहरु, आङदु (तिब्बेतियन ड्रेस), कारा (पटुका), स्यामा (पछाडी लगाउने), खिम्बु  (चम्चा), स्यादे  (टोपी) र बुटिल (कानमा लगाउने ढुङ्ग्री)मा सजिएर । लहरै उभिएकामध्ये पहिलोले हामीलाई खादा लगाईदिइन । दोश्रोले हत्केलामा नौनी राखीदिईन । तेस्रोले थोरै करुको पिठो र बाँकीले रक्सि राखी दिए । भोको पेटमा उनीहरुले हत्केलामा राखीदिएको थोरैथोरै रक्सि लिंदा करिब-करिब मात्रा पुग्दोरहेछ ।
तामांङ् रीतिरिवाज अनुसार पाहुनाको स्वागत सत्कार गर्ने उनीहरुको त्यो तरिका हाम्रो लागी नौलो थियो । यसघि यस्तो कहिल्यै देखेको थिइन मैले । मेरो मनले भन्यो- 'सुन्दर परिधान, पवित्र हात, हार्दिकतापूर्ण स्वागत । यही त हो नेपाली संस्कृतिको विशिष्टता ।
३.    तलाउको नाम घोडाघोडी कसरि भयो ?
मैले पुजारीसंग तलाउको नाम घोडाघोडी कसरि भयो भनेर जिज्ञासा राखें । यस बारेमा उनले रोचक कथा सुनाए । "श्रीमद्भागवत देवी पुराणको षष्टम् स्कन्द अध्याय १६ देखि २३ सम्ममा उल्लेख भए अनुसार समुद्र मन्थन गर्दा उत्पन्न भएको उच्चैश्रवा घोडा चढेर रेमन्त नामक सूर्यपुत्र भगवान बिष्णु कहाँ गएका थिए रे । लक्ष्मीले उनलाई एकाग्र चित्तले हेर्दा विष्णुले परपुरुष प्रति आशक्त भएको भनि घोडीको रुप लिनु परोस भनेर श्राप दिएछन रे । त्यसपछि प्रायश्चितका रुपमा लक्ष्मीले रामशिखर पर्वतदेखि दक्षिणको घना जङ्गल. पश्चिमतिर कालिङ्गा नदी र पूर्वमा तमासा नदीको बीचमा अवस्थित पुत्रेश्वर महादेवको शिवलिङ्गमा गर्ने वाचा गरिन रे । सोहि अनुरुप प्रत्येकदिन पुत्रेश्वर महादेवको शिवलिङ्गमा १०८ कमलको फूल अर्पण गर्दै नियमितरुपमा पूजापाठ गर्न थालिन् रे । यस क्रममा एकदिन पुजापाठ गर्दै गर्दा एउटा कमलको फूल मुसाले लगिदिएछ रे । पूजापाठ खण्डित नहोस भनेर लक्ष्मीले आफ्नै स्तन काटेर १०७ कलाको फूलसंगै चढाउँडा भगवान शिव प्रकट भई पुत्र वरदान दिनुभएछ  रे । र, तुरुन्तै विष्णुलाई लिन आफ्नो दूत पठाएछन रे । त्यसपछि विष्णु पनि घोडाको रुप लिएर लक्ष्मी भेटन आएछन । लामो समयपछी मिलन हुँदा विष्णु र लक्ष्मी यति हर्षित भएछन् कि दुवैको हर्षाश्रु जमेर तलाउ बन्न पुगेको रे । यसरि यो तलाउको नाम घोडाघोडी तलाउ भयो रे ।
४.    एबीसी अर्थात अन्नपूर्ण चुमेको दिन ।
एबीसी पदयात्राको सबैभन्दा कठिनतम दिन आज । पुग्नु छ ४११६ मिटरको उचाईमा । एउटा पदयात्रीको निमित्त युद्ध्सरह हो यो यात्रा । अर्थात् एबीसी बिरुद्धको लडाईनै हो । मैले यो लडाई जित्नुपर्छ । यसो भन्दाभन्दै पनि दुर्भाग्यबस कत्तिले हार्ने गरेका छन । र, बिगतका यस्ता घटनाहरु सम्झंदा तरंग उठ्छ मेरो मनमा –
प्राकृतिक दृश्यपान गर्न हिंडेका
कैयन पदयात्री,
सपनाको खोजीमा निस्केका
पथप्रदर्शकहरु
र, कैयौं भरिया
हिंड्दाहिड्दै अस्ताउँछन
हिमालकै काखमा
गन्तब्य नछिचोलिंदै 
अस्तु ..............

No comments