हेमन यात्री

च्याटभ्यू - ३

राम अविकास

कविता - आमाको गीत:दुई
हिउँदे बतासको लैबरीमा
थपडि बजाइरहेछन् चिउरीका पातहरू  
भर्लेनि पाखामा कोरस आलापीरहेछन्
एकहुल हलेसोका बथान  
आमा रूखबाट गीतका हरफहरू खसाइरहेछिन् ।
नजीकै बगिरहेको छ चिपचिपे खोला
 आमा रूखबाट ओर्लेर कुवा बनाउँछिन्  
र कुवाको ऐनामा
युद्घमा बेपत्ता छोराको अनुहार देख्छिन् ।
यतिन्जेल आफ्नै अनुहार राम्ररी नदेखेको आमाले  
आफैलाई छोराजस्तो देखेर
निकैबेर के के सोचिरहिन् ......?
कुवामा देखिएको अनुहार आफ्नै आँसुले लत्पतीएपछि  
आमा झस्किदै पटुकिको फेरो समातेर
छोराको सम्झना पोखिएको आँखाका डिल पुस्छिन्
र खोलाको चेप्टेढुङ्गामा बसेर
छोराले लेख्न सिकाएको आफ्नै नाम
लेख्तैमेट्तै गर्छिन् ।
...............................

पीडाहरूमा सबै भन्दा ठूलो पीडा सायद प्रसबको होला। प्रसबपीडा पछिको जुन आनन्दाभूति हुन्छ त्यो नै कारकतत्व हुनुपर्छ जसले त्यो भयानक पीडालाई सहजै बिर्साइ दिन्छ। यो कविता जन्मेपछि युवाकवि हेमन यात्रीलाई पनि यस्तै अनुभूति भएको हुनु पर्छ। ५० को दशकबाट लेखन यात्रा आरम्भ गरेका यात्रीको ५४/५५ सालतिर पहिलो गीती रचना पालुवा हवाइ साहित्यिक पात्रिकामा प्रकाशित भएको भेटिन्छ जुन पथरी, मोरङबाट प्रकाशित हुनेगर्थ्यो। कविताले परिभाष खोज्दैन, बरु परिभाषा नै कविता खोज्दै आउँछ भन्ने मान्यता राख्ने कवि यात्री कलाको सर्बश्रेष्ठ अभिब्यक्ति कविता भन्न पछि पर्दैनन्।
अनुभूतिले भिजेको बखतमा कविता लेख्न नसके कविता 'अन्तै जाने' कवि हेमन मान्यता रहेको पाइन्छ। हालसम्ममा यात्रीका 'आसुको मुल्य', गीत-गजल सङ्ग्रह २०६१ र 'पहाड मसितै यात्रा गर्छ', कविता सङ्ग्रह २०६९ प्रकाशित भैसकेका छन्। अहिले देशैभरि कविता राम्रो लेखिरहेको अवस्थामा यो या त्यो ठाऊँ कविताको लागि 'उर्भर' भनेर तोक्न नसकिने उनको सोचाइ पाइन्छ। साहित्यमा बौद्धिक अभ्यास गर्दै आएको हेटौँडेली साहित्यिक संस्था सिर्जन सौरभले हेमन यात्रीको यही असार ८ गते हेटौँडामा एकल कविता वाचन कार्यक्रम आयोजान गर्दै गरेको जानकारी पनि प्राप्त भएको छ। यिनै शक्तिशाली युवाकवि हेमन यात्रीलाई च्याटमा भेटिएको बेला मैले पाँच प्रश्न सोधेको थिएँ -
 १ किन लेख्नु हुन्छ कविता?

-उदेश्य बनाएर म कहिले लेख्दिनँ । लेख्नुभन्दा अघि नै लेखिसकिन्छ- अनुभूतिले कविता । पछि त्यस्को ब्यवस्थापन गर्छु- शब्दको माध्यमले । कविताले उदेश्यको निर्धारण गर्छ शायद ।
  तपाईँको विचारमा साहित्य के हो?
- साहित्य समाजको ऐना भन्छन् । तर साहित्य समाजको ऐना मात्र होइन , अङ्ग पनि हो ।

 ३ लेखेर के पाउनु भयो/ के गुमाउनु भयो?
-लेखेर धेरै कुरा पाएकोछु मैले । पाठकको माया ,तपाई जस्तो असलमित्र , थोरै थोरै परिचय । गुमाउन त खै के गुमाउनु होला ? यदि गुमेकै भए, कविता-कविता भनेर बैंश गुमाइयो होला। हे हे हे .....


 ४ कविताकृतिहरू कम बिक्छन् किन होला?  
मलाई त्यस्तो लाग्दैन कि कविता कम बिक्छन् । प्रकाशकहरुले कवितालाई कम महत्त्व दिएको चाहीँ पक्कै हो । उनिहरुको पब्लिसिटी अनुसार धेरै बिकेको छ कविता । फेरिपनि कवितालाई बिक्रीसँग हेरिनु हुँदैन भन्ने मेरो आग्रह हो । यदि सर्बाधिक बिक्री भएको उपन्यास हो भने त्यो कविताको भाषाले बिक्री भएको छ । हामीहरुले यसरी पनि बुज्नु पर्छ होला ।
 ५ अस्ति भर्खरै काठमाण्डौमा तपाईँको एकल कविता वाचन सकियो। असार ८ गते हेटौँडामा फेरि - तपाईँकै अर्को एकल वाचन हुँदैछ। खासमा, एकल वाचन हुँदा कविलाई चैं के फाइदा हुन्छ? एकलवाचनले घाटा र नाफा भन्दा पनि आफ्नो पाठकहरूसङ्ग प्रत्यक्ष सम्बाद हुन पाउँछ जुन एउटा लेखक, कवि र पाठकका लागि पनि महत्वको कुरा हो। आजको समयमा जरुरी पनि छ- लेखक र पाठक बीचको अन्तरसम्बाद । पाठकको प्रत्यक्ष प्रतिकृयाले लेखकलाई लेखनको लागि अप्रत्यक्ष ऊर्जा मिलिरहेको हुन्छ।